योगी नेपालको इतिहास खोज्ने व्यक्ति

योगी नरहरिनाथको जन्म वि.सं. १९७१ फागुन १७ गते आइतबारका दिन कालीकोट जिल्ला, तत्कालीन ठाँटीकोट गाउँ विकास समिति, वडा नं. ७, लालुलोखाडा, चाखा, लालुगाउँका भारद्वाजगोत्रीय ललितसिंह ऋक्सेन थापा र माता गौरीदेवी (आत्रेयगोत्री) को माइला पुत्रको रूपमा भएको थियो । आठ वर्षकै उमेरमा ब्रतवन्ध गरिएका बलवीरसिंह ऋक्सेन थापाले वि.सं. १९८१ मा जुम्ला चन्दननाथ मन्दिरका महन्त छिप्रानाथ योगीसँग सन्न्यास लिएपछि मात्र उनको नाम योगी नरहरिनाथ रहन गएको थियो ।

 

योगी नरहरिनाथ नौ वर्षको उमेरमा जुम्ला, चौघानस्थित वटुकभैरवनाथ सिद्ध चन्दननाथ भाषा पाठशालामा प्रवेश गरेका थिए । त्यसपछि उनले हरिद्वार, मायापुरी योगा श्रममा समग्र व्याकरण, दर्शनशास्त्र र काव्य साहित्यको अध्ययन गरे । वि.सं. १९९२÷९३ मा वाराणसी, गोरक्षटिल्ला, मैदागिनीमा सिद्धान्तकौमुदी, महाभाष्य प्रथमान्हिक र वाक्यपदीय ब्रम्हकाण्डको अध्ययन गरे । लाहौर, प्राच्य विद्यापीठमा काव्यप्रकाश, कादम्बरी पूर्वाद्र्ध तथा अन्य दर्शनशास्त्रको अध्ययन गरे । विसं. १९९५ मा सरस्वती संस्कृत महाविद्यालय, लुधियानाबाट शास्त्री उत्तीर्ण, गुरुकुल काँडी विश्वविद्यालय, हरिद्वारबाट वि.सं. १९९७ मा ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद, शतपथ ब्राम्हण, तैतिरीय ब्राम्हण, ऐतरेय ब्राम्हण, ताण्ड्य ब्राम्हण, गोपथ ब्राम्हण अध्ययन गरी वेदालंकार परीक्षा उत्तीर्ण गरे ।

अध्ययन पूरा गरेपछि उनी’गौहत्या निषेध आन्दोलन’ एवं भारतको स्वतन्त्रता संग्राम सत्याग्रहमा होमिए । यस क्रममा उनी पटकपटक लाहौरको मल्तान, शिन्ध, पञ्जाब, दिल्ली र कलकत्ताका कारागारहरूमा थुनिए । भारतमा लोकतान्त्रिक सरकार गठन भएपछि भारत सरकारले ताम्रपत्र, स्वतन्त्रता सेनानी जीवनवृत्ति तथा भारतीय भूमिमा प्रदान गर्न चाहेको आ श्रम अस्वीकार गर्दै’मलाई आफ्नै देश र आफ्नै माटो प्यारो छ’ भन्दै नेपाल फर्किएका थिए । योगी नरहरिनाथ २००४ कात्तिक २० गतेदेखि स्थायी रूपमा मृगस्थलीमा बस्न थाले ।

साधुसन्तको संगत रुचाउने तत्कालीन श्री ३ जुद्धशमशेरले पशुपतिमा लक्ष्यहोम गरी १० हजार गाईदान गर्दा योगी नरहरिनाथका लागि पनि उनको प्रतिभा र बौद्धिकताको सम्मान गरेर गोरक्षपीठः मृगस्थलीको चार रोपनी क्षेत्रफलको जग्गामा दुईवटा आ श्रमघर र गौशाला बनाइदिएका थिए । त्यही नै उनको पूरै जीवन व्यतित भएको थियो । तात्कालीन प्रधानमन्त्री श्री ३ मोहन शमशेरद्वारा राजकीय सम्मानका साथ उनलाई २००४ पुस ४ गतेदेखि गोरखनाथ मठको पीर महन्तको रूपमा नियुक्त गरिएको थियो । वि.सं. २०१८ पुस १ गतेसम्म योगी महन्तकै रूपमा रहे । गोरखनाथ मठका महन्त योगी नरहरिनाथ भए तापनि उनको कार्य व्यस्तताका कारण उहाँले महन्त पदमा रहेर गर्नुपर्ने सम्पूर्ण कामको जिम्मेवारी आफ्ना गुरु छिप्रानाथ योगीलाई सुम्पिएका थिए । २०४४ पुस ९ गतेका दिन योगी छिप्रानाथ ब्रम्हलीन भएपछि उक्त जिम्मेवारी रामनाथ योगीलाई दिइयो।

‘अलख निरञ्जन, भिक्षां देही’ भन्दै सिदा नमागेर ऐतिहासिक प्रमाण माग्दै हिँडेका योगी नरहरिनाथ नेपालको मौलिक इतिहास र मौलिक संस्कृतिको खोजीमा भौतारिएका थिए ।

त्यसपछि २०४५ चैत्र १ गतेदेखि उक्त जिम्मेवारी टीकानाथ योगीलाई प्रदान गरियो । टीकानाथ योगीलाई उतै बस्ने गरी मुम्बईबाट निमन्त्रणा आएपछि २०४६ साउन १ गतेका दिनदेखि रूपनाथ योगीलाई गोरखनाथमठको पीर महन्तको जिम्मेवारी दिइएको थियो । अहिले गोरखानाथमठका प्रमुख मठाधीश पदमा योगी नरहरिनाथका शिष्य योगी श्रीषनाथ छन् ।

राष्ट्रगुरु योगी नरहरिनाथलाई शास्त्री, वेदविद्यालंकारः, आसुकवि, धर्मशास्त्राचार्यः, पुरातत्वविद्, इतिहास लेखक तथा प्रकाशक, थुप्रै भाषाका ज्ञाता, ४५ वटा लक्षहोम १२९ वटा कोटिहोम र ५ वटा शिवयज्ञकर्ता, गोभक्त, आजीवन-विद्यार्थी, आजीवन-पदयात्री, आजीवन-योगाभ्यासी, आजीवन-स्वयम्सेवक, आजीवन-परोपकारपरायण, विश्वशान्ति-विश्वकल्याण परायण, आबाल ब्रह्मचारी, शतशहस्र तीर्थयात्री, भारद्वाजगोत्रीय ऋषि, हिन्दु राष्ट्रगुरु, वनस्पति परिचयज्ञ, सहस्राधिक-पुस्तक लेखक तथा प्रकाशक, बृहदाध्यात्मिक परिषद् संस्थापक, धार्मिकाध्यात्मिक-सांस्कृतिक साहित्यिक राष्ट्रिय संस्था संस्थापक, विश्वहिन्दु महासंघ संस्थापक, पञ्चभाषा विश्वविद्यालय प्रस्तावक आदि विशेषणले पनि चिनिन्छ ।

योगी नरहरिनाथले कर्मवीर महामण्डल, इतिहास प्रकाश संघ, आर्यवीर संघ, बृहत् आध्यात्मिक परिषद्, नेपाली लोकसाहित्य परिषद्, संस्कृत वाङ्मयानुसन्धान परिषद्, आर्षविद्या शोध केन्द्र, विभिन्न कोटिहोम समितिहरू स्थापना गरेका थिए । योगीले आफ्नो जीवनकालमा गोरक्षग्रन्थमाला अन्तर्गत एक सय १४ वटा तथा इतिहास तथा पुरातत्वसम्बन्धी आठवटा, पाक्षिक÷मासिक÷त्रैमासिक पत्रपत्रिकाहरू १० वटा, अन्य विविध विषयका दुई सय ६३ वटा गरी जम्मा पाँच सय ७१ वटा पुस्तकहरू (अप्रकाशित एक सय ७६ पुस्तकसमेत) प्रकाशित गरेको विवरण पाइएको छ । उनले रचना गरेका कृतिमध्ये अन्योक्ति मुक्तावलीका केही भाग, इतिहास प्रकाशमा सन्धिपत्र संग्रहको कुल ८२ भागमध्ये ७५ भाग, इतिहास प्रकाशको कुल ८२ भागमध्ये ७८ भाग, शिखरिणीयात्राको कुल १५ भागमध्ये १४ भाग, अभिलेखमालाहरू, करिब ६ सयवटा थर गोत्र वंशावलीहरू, अवतार विभूति फल परिचय, मनुस्मृति पद्यमय टीका र कोटीहोम परिचय ७४ भागलगायत एक सय ७६ वटा पुस्तकहरू प्रकाशन हुन बाँकी नै रहेको देखिन्छ । उनले संस्कृत सन्देशः (अभिलेख प्रधान), जयतु संस्कृतम् (भाषा साहित्य प्रधान), पुरुषार्थः (धर्म प्रधान), कर्मवीर सन्देशः, हिमवत्संस्कृतिः (संस्कृति र इतिहास प्रधान), विश्वात्मदर्शनः, सरयुसन्देशः, नाथवाणीः, ग्राम गरिमा, नाथ सन्देशः र संस्कृतामृतजस्ता पत्रिकाको सम्पादन एवम् सञ्चालन पनि गरेका थिए।

योगीको राष्ट्रमोह

राष्ट्रिय स्वाधीनताका सवालमा पनि योगी अत्यन्त सजग थिए । उनले तात्कालिक नेपाल सरकारको निर्णयअनुसार चितवन जिल्ला, नारायणगढ बजारभन्दा उत्तरतर्फको नेपालको सांस्कृतिक, पुरातात्िवक एवम् धार्मिक क्षेत्रभित्रको ४२ बिगाहा जग्गा भारतीय र संयुक्त राज्य अमेरिकाको वेस्ट भर्जिनिया विश्वविद्यालयलाई चिकित्सा शास्त्र अध्ययन केन्द्र स्थापना गर्नका लागि निःशुल्क दिने निर्णयविरूद्ध सर्वोच्च अदालतबाट उत्प्रेषणको आदेश जारी गरी पाउन रिट निवेदन दिएका थिए । सोही रिट निवेदनका आधारमा विसं. २०५२ साल वैशाख १७ गतेका दिन सर्वोच्च आदलतबाट जारी गरिएको उत्प्रेषणको आदेशद्वारा नेपाल सरकारको निर्णय बदर भएको थियो । त्यस स्थानमा अहिले’योगी नरहरिनाथ प्राकृतिक चिकित्सालय’, गौशाला, गुरुकुल आदि सञ्चालन भइरहेका छन् ।

त्यसैगरी सुगौली सन्धिपूर्व नेपाली भू-भागको हैसियत पुनः प्राप्त गरी गराई’नेपाल अधिराज्यको संविधान-२०४७’को धारा ४ को उपधारा २ को (ख) बमोजिम नेपाल अधिराज्यको भू-भाग कायम गर्नू गराउनू भनी मन्त्रिपरिषद्लगायत प्रत्यार्थीहरूका नाममा परमादेश जारी गरी नेपाल अधिराज्य र नेपाली जनताका लागि पूर्ण न्याय गर्न गराउनका लागि योगी नरहरिनाथ, प्रल्हाद हुमागाई, प्रकाशराज देवकोटा, अशोकलाल श्रेष्ठ र अधिवक्ताहरू रामजी विष्ट, श्यामप्रसाद ढुंगेल र राधेश्याम लेकालीहरूद्वारा विसं. २०५४ साल असार ३१ गते सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

योगीमाथि आइलागेका विपत्ति

वर्तमान राजनीतिक समाजले योगी नरहरिनाथलाई राजावादी वा पञ्चायतका पक्षधर मानिरहेको छ भने तात्कालिक पञ्चायती व्यवस्थाले उनलाई अराष्ट्रिय तत्व आदि इत्यादि आरोप लगाएर दुःख दिने गरेको थियो । यस्तै घटनामध्ये विसं. २०१७ साल कात्तिक ९ गतेको’गोरखा काण्ड’ एक चर्चित काण्ड हो । यस घटनाको रिसमा योगी नरहरिनाथका सम्पूर्ण सरसामान तथा ऐतिहासिक सामग्रीका बोरा तात्कालिक सरकारले प्रहरी खटाएर आगो लगाइदिँदा सात दिनसम्म मृगस्थली वन क्षेत्रमा धुवाँको मुस्लो उठेको स्मरण गर्नेहरू अझै पनि छन् । विसं. २०३३ साल साउन १८ गतेदेखि माघ १ गतेसम्म पञ्चायती सरकारले हिरासतमा राखेर छोडेपछि योगी भारतमा निर्वासनमा गएका थिए । पञ्चायतका व्यक्तिहरूले उनको ज्यान नै लिने उद्देश्यले काँचको धुलो मिसाएको पानी खान दिँदा धेरै समयसम्म मुच्र्छित भएका पनि थिए ।

योगी नरहरिनाथ ८८ वर्षको उमेरमा मिति २०५९ फागुन १३ गते मंगलबार राति १२:४० मा मृगस्थली आ श्रममै ब्रम्हलीन भए । उनी ब्रम्हलीन भएपछि नेपाल सरकारको गुठी संस्थानले योगी नरहरिनाथ आ श्रममा ताल्चा लगाइदिएको थियो । ताल्चा खोलेर योगीका अप्रकाशित दस्तावेज संरक्षण संवद्र्धन गर्ने, औषधोपचार गर्ने, प्रकाशन गर्ने अनुमति माग गर्दा पनि गुठी संस्थानले कुनै सुनुवाइ गरेन । गुठी संस्थानले पटकपटक आलटाल र जालझेलमात्र गर्‍यो । कहिले आधिकारिकताको प्रमाण माग गर्‍यो, कहिले पशुपति गुठीको सिफारिस माग्यो । यसरी आपूmले पनि संरक्षण नगरिदिने र अरूलाई पनि संरक्षण गर्न नदिने गुठी संस्थानको बदनियतले समाज र राष्ट्रको महत्वपूर्ण सम्पत्ति नोक्सान हुने अवस्थामा पुगे ।

जीवनको अन्तिम क्षणसम्म पनि योगी राष्ट्र र राष्ट्रियताका निमित्त चिन्तित भइरहे । योगी नरहरिनाथको सम्पूर्ण जीवन मातृभूमिको सेवा, राष्ट्रभक्ति, नेपाल र नेपालीको मौलिक भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने सत्कार्यमा नै बितेको थियो । उनले सिर्जना गरेका कृतिहरू समाज, राष्ट्र र विश्वमानव परिवारका निमित्त अमूल्य सम्पत्ति हुन् । उनले विसं २०२२ चैत्र १ गतेका दिन स्थापना गरेको’ श्रीबृहत् आध्यात्मिक परिषद्’ नामक संस्थाले मृगस्थलीमा रहेका उनका सामग्रीको संरक्षण गरी’योगी नरहरिनाथ स्मृति पुस्तकालय तथा संग्रहालय’ सञ्चालनमा ल्याएको छ । यस पुस्तकालय तथा संग्रहालयमा योगीद्वारा लिखित एवम् प्रकाशित करिब तीन सय ५९ वटा पुस्तक÷पुस्तिका एवम् पत्रपत्रिकाहरू लगायत योगी नरहरिनाथले आफ्नो जीवनकालमा प्रयोग गरेको सामग्री संरक्षण गरिएको छ ।

वैदिक कार्यमा योगी

योगी नरहरिनाथले विसं. २०३८ माघेसक्रान्तिका दिन गलेश्वरबाबा आ श्रम, देवघाट, तनहुँदेखि कोटीहोम गर्न सुरु गरी एक सय २९ वटा कोटीहोम ४५ वटा लक्ष्य होम र पाँच वटा शिवयज्ञहरू सम्पन्न गरेका थिए । यिनै कोटीहोम यज्ञ आदिका माध्यमबाट वैदिक सनातन दर्शन, वेद, गायत्री, संस्कृत भाषा र गाईको महत्वबारे मानव समाजलाई शिक्षित तुल्याए । कोटीहोमकै माध्यमबाट संकलन भएको आर्थिक सहयोगलाई गुरुकुलहरू स्थापना गराउन सदुपयोग गरे । वैदिक दर्शनमा आध्यात्मिक क्रान्तिको सुरुवात गरे । वेद र उपनिषद्का उपदेशलाई सरल र सहजशैलीमा अथ्र्याए । पृथ्वी, जल, अग्नि, वायु र प्रकृतिको संरक्षणको महत्व उजागर गरे । संस्कृत भाषा नै अन्य सबै भाषाहरूको जननी भाषा भएकोले संस्कृत भाषाको संरक्षण संवद्र्धन तथा संस्कृत शिक्षाको महत्वलाई जोड दिँदै दाङको बेलझुन्डीमा’नेपाल संस्कृत विश्वविद्यालय’ र भारतको गिरिजापुरीमा’सरयु संस्कृत विश्वविद्यालय’ स्थापना गर्न पहल गरे ।

समग्र राष्ट्र, राष्ट्रियता र मानवसमाजका लागि आफ्नो जीवन समर्पित गर्ने योगी नरहरिनाथलाई राष्ट्र र नेपाली समाजले बिर्सिएको वा वास्ता नगरेजस्तो छ । अन्य देशका योगी पण्डित नेपालमा सम्मानित एवम् पूजित छन्, तर नेपालकै राष्ट्रगुरु योगी नरहरिनाथ र उहाँका कृति एवम् देनहरू उपेक्षित रहेका छन् । योगीको कठिन मेहनत र सत्प्रयासमा संकलन भएका मेचीदेखि महाकालीसम्मका संस्कृति, कला, भाषा, साहित्य, इतिहास र पुरातत्व केवल कसिंगरको रूपमा सड्न, गल्न र धुलोमाटोमा विलिन हुनका लागि मृगस्थलीस्थित अत्यन्त जीर्ण भवनका कोठामा विगत लामो समयदेखि ताल्चा लगाएर बन्द गरिएका थिए ।

राष्ट्रको सम्पत्ति बचाइदिनु पर्‍यो भनेर सम्बद्ध निकायहरूमा पटकपटक अनुरोध गर्दा पनि योगी नरहरिनाथका सम्बन्धमा न कसैले सुन्न चाह्यो न केही गर्न चाह्यो । नेपाल र नेपालीको वास्तविक पहिचानका महत्वपूर्ण ऐतिहासिक प्रमाणहरू ढुटोमाटोमा परिणत हुँदा स्वाभिमानी नेपाली समाजको शिर कसरी उठ्न सक्ला र ? योगी नरहरिनाथका खोज एवम् अनुसन्धान राष्ट्रका निमित्त महत्वपूर्ण सम्पत्तिको रूपमा रहेकाले यसलाई बचाउनु वर्तमान मानवसमाजको प्रमुख दायित्व हो।

मृगस्थलीस्थित योगी नरहरिनाथ आ श्रम अत्यन्त जीर्ण भइसकेको थियो । विसं. २०७२ वैशाख १२ र २९ गते आएको भूकम्पको परकम्पन लगातार आई नै रहेको थियो । भूकम्पको परकम्पनका कारण कतिबेला जीर्ण भवन ढल्छ र योगी नरहरिनाथका सम्पूर्ण संकलनहरू पनि भग्नावशेषमै पुरिन्छन् भन्ने त्रास रहीरहेको थियो । योगी नरहरिनाथले बडो दुःख कष्टका साथ संकलन गरेका सामग्रीलाई विसं. २०१७ सालमा सरकारले प्रहरी खटाएर आगो लगाइदिएको थियो, केही सामग्री विसं. २०२८ सालमा सिंहदरबार आगलागीमा परेका थिए । अब मृगस्थली आ श्रममा बाँकी रहेका सामग्री त बचाउनु पर्‍यो भनेर प्रयास गर्दा पनि सरकारको सहयोग प्राप्त हुन सकेन ।

२०७२ चैत्र १५ गते सोमबार अपराह् ४ बजेतिर काठमाडौं उपत्यकामा आएको हावाहुरी र आँधी तूफानले गोरक्षपीठ, मृगस्थलीस्थित राष्ट्रगुरु योगी नरहरिनाथ आ श्रमको उत्तरतर्फको टिनको छाना उडाइदियो । सोही समयमा पानी पर्दा राष्ट्रगुरु योगी नरहरिनाथले त्यहाँ संग्रह गरेका सम्पूर्ण सामग्री नष्ट हुने सम्भावना देखियो । यस्तो परिस्थितिमासमेत यस स्थानमा गुठी संस्थानको उपस्थिति रहेन । राष्ट्रगुरु योगी नरहरिनाथले राष्ट्रका निम्ति गरेको मूल्य योगदानलाई प्राकृतिक विपत्तिका कारण राष्ट्रका निमित्त सुरक्षित राख्न कठिन भएपछि परिषद्ले मानवीय एवम् राष्ट्रियताप्रतिको कर्तव्यको पालना गर्दै सुरक्षाका निमित्त आफंैले बोकेर गोरक्षनाथमठभन्दा पूर्वतर्फ रहेको नयाँ भवनमा सुरक्षित स्थानान्तरण गरेको थियो । धेरै सामग्री नोक्सान भइसकेको अवस्थामा पनि कतैबाट केही सहयोग प्राप्त भएन । भोलिपल्टदेखि नै ती सम्पूर्ण सामग्रीको छनोट गर्ने कार्य प्रारम्भ गरियो।

स्थानान्तरण गरिएका सम्पूर्ण सामग्रीको सूचीकरणपश्चात् पुनः व्यवस्थापन तथा आवश्यक औषधोपचार गरी सुरक्षित तुल्याउने प्रयासलाई अघि बढाइयो । परिषद् आफैंले राख्न मिल्ने सामग्रीहरू’योगी नरहरिनाथः स्मृति पुस्तकालय तथा संग्रहालय’मा सुरक्षित गरी सम्पूर्ण अध्ययनअनुसन्धाता, शोधकर्ता, शिक्षक, विद्यार्थी एवम् जिज्ञासु जनसमुदायको कल्याणका निमित्त उपलब्ध गराउने प्रयासलाई अघि बढाइएको छ ।

विसं. २००७ सालअघिसम्म नेपालमा पढ्ने पढाउने वातावरण थिएन । जो जसले पढे, अध्ययन गरे विदेशी भूमिमै पुगेर दुःखसुख गरी शिक्षित भएका थिए भन्ने कुरा पाठकहरूलाई अथ्र्याई रहनु परोइन । पूर्वपश्चिम लोकमार्ग, मुग्लिन-नारायणगढ÷हेटांैडा-काठमाडौं मार्ग वा मुलुकका अन्य जिल्लाहरू जोड्ने सडकमार्गहरू बनेकै थिएनन् । न त सबै ठाउँमा हवाई यातायातको साधन नै उपलब्ध थिए । त्यसमाथि झन तराई प्रदेशमा औलोको डरले छिर्नै नसकिने अवस्था थियो । यस्तो अवस्थामा उकाला, ओराला, खोलानाला, वनजंगल, हिंस्रक वन्यजन्तु, तराईको भावर, दून अनि औलोको सामना गर्न सक्ने दुस्साहस अकल्पनीय नै थियो ।

सरकारी आतिथ्यतामा नेपालको अध्ययन-अनुसन्धान गर्ने विदेशी विद्वानहरूका लागि पनि नेपालको भौगोलिक विकटता तथा शैक्षिक चेतनाको अभावका कारण समग्र नेपालको अध्ययन अनुसन्धान सम्भव हुनै सकेन । तात्कालिक परिवेशमा राजधानीमा रहेका स्वदेशी विद्वानहरूलाई पनि थानकोट नाघेर बाहिर गई अध्ययन अनुसन्धान गर्न सम्भव थिएन नै । स्वदेशी विदेशी सबै अनुसन्धानकर्ताहरूको अध्ययनको क्षेत्र उपत्यकाभित्र नै साँघुरिएको थियो । मुलुकको यो अवस्थाले गर्दा काठमाडौं उपत्यकाभित्र व्यापक अध्ययन अनुसन्धान हुन सक्यो भने बाहिर पटक्कै सम्भव भएन । त्यसैले बाहिरको इतिहास अझैं पनि पूर्ण हुन सकेको छैन । मुलुकको यो अवस्था रहँदा इतिहास, संस्कृति र पुरातत्वको अध्ययन-अनुसन्धानका निमित्त मुलुक चाहार्न सक्ने साहस कुनै पनि नेपाली विद्वानहरूले गर्न सकेको प्रमाण पाइँदैन । यस्तो परिस्थितिमा पनि योगीका निर्भीक पाइला रोकिएनन्।

काँधमा झोला भिरेर खोलानाला, पहाडपर्वत र वनजंगल, जंघार छिचोल्दै गाउँगाउँबाट ऐतिहासिक एवम् पुरातात्विक सामग्रीहरू बटुल्दै काठमाडौं पुर्‍याउने र छाप्दै जाने काम केवल योगी नरहरिनाथले मात्रै गरेकोमा दुईमत छैन, यथेष्ट प्रमाणहरू सर्वत्र छरिएर रहेका छन् । योगीले काठमाडौंमा बसेर अध्ययन अनुसन्धान एवम् व्याख्या र प्रकाशन गर्ने’इतिहास प्रकाश मण्डल’ नै स्थापना गरेका थिए जसको नेतृत्व इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका थिए । विसं. २०२१ इन्द्रजात्राका दिन प्रकाशन भएको २४ पाने सन्धिपत्रसंग्रहको पृष्ठभूमि लेख्दा योगी नरहरिनाथले’जानन्तु सर्वे जनाः’ भनेर २५ वर्षदेखि गोर्खा राष्ट्रका सात प्रदेश १४ अञ्चलका ऐतिहासिक सामग्रीहरूले इतिहास प्रकाशको ६३ भाग र टिष्टा, कांगडा, गंगा र दिगर्चासम्मका ऐतिहासिक सामग्रीहरू १५ देखि २० हजार थानसम्म संकलन गरिएको बेहोरा उल्लेख गर्नुभएको छ ।

नेपालको भौगोलिक विकटता, यातायात साधनको अल्पता र औलोको महामारीका बीच पनि योगी नरहरिनाथले मुलुक चाहार्ने हिम्मत गरेकै हुन् ।’अलख निरञ्जन, भिक्षां देही’ भन्दै सिदा नमागेर ऐतिहासिक प्रमाण माग्दै हिँडेका योगी नेपालको मौलिक इतिहास र मौलिक संस्कृतिको खोजीमा भौतारिएका थिए । त्यसैले अहिले पनि कतिपय ठाउँमा योगीलाई इतिहासका विद्वान् हिममानव पनि भन्ने गरिन्छ ।

योगी नरहरिनाथलाई विभिन्न आरोप लगाएर पञ्चायत सरकारले विसं. २०३३ साउन १८ गतेदेखि २०३३ माघ १ गतेसम्म केन्द्रीय कारागारमा कैद गरेको थियो । कैदमै रहँदा पनि उनले आध्यात्मिक नेपाल एवं देवदेशो हिमालयः, आध्यात्मिक भारत एवं देवदेश नेपाल, अवतार विभूति स्थल परिचयः, विश्वहिन्दु धर्म सम्मेलन, पशुपतिमतम् (शिवधर्म महाशास्त्रको गद्यानुवाद), अन्योक्ति मुक्तावली, देवता तीर्थमाला र इतिहास प्रकाशका केही भाग रचना गरेका थिए ।
(पोखरेल श्रीबृहत् आध्यात्मिक परिषद्, मृगस्थलीका महासचिव हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *